बिर्तामोड मिडिया रिसर्च सेन्टर र विरता रिडर्सको संयुक्त पहलमा बिर्तामोडमा एक दिने साहित्यिक लेखन तालिम सम्पन्न भयो।
गोपिकृष्ण स्मृति प्रतिष्ठान, झापा साहित्य समाज, साहित्य पत्रकार मञ्च र इशा बुक्सको सहकार्यमा सम्पन्न उक्त तालिममा साहित्य लेखनका विभिन्न पक्ष, शैली तथा विधि सम्बन्धी प्रशिक्षण दिइएको थियो।
प्रशिक्षक लेखक रमेश शायनले सहभागीहरूलाई साहित्य लेखनका तरिका, भाषाको प्रयोग र लेखन कौशलबारे विस्तृत जानकारी दिँदै तार्किक सोच र सिर्जनशीलताको महत्त्वमाथि जोड दिए।
उनले व्यक्तिको वास्तविक रुचि पत्ता लगाउन सकिए मात्र लेखनमा सफलता सम्भव हुने बताए। साथै, लेख्ने तथा कलम चलाउने सबैलाई उत्साह दिनुका साथै विश्लेषणात्मक क्षमता वृद्धि गर्न प्रेरित गरे।
मिडिया रिसर्च सेन्टरका संयोजक तीर्थ सिग्देलको अध्यक्षतामा सम्पन्न तालिममा सहभागी विद्यार्थीहरूले आफ्नै सिर्जना ,गजल र कविताहरू प्रस्तुत गरेका थिए।
बिर्तामोड नगरपालिका र लिङ्कन मन्टेश्वरीको विशेष सहयोगमा सम्पन्न तालिममा विभिन्न क्षेत्रका लेखक, पत्रकार, साहित्यप्रेमी तथा साहित्यमा रुचि राख्ने विद्यार्थीहरूको उल्लेखनीय सहभागिता थियो।
आयोजक संस्थाहरूले यस कार्यक्रमले साहित्यिक लेखनप्रति रुचि राख्ने युवाहरूलाई थप प्रेरणा दिने विश्वास व्यक्त गरे। सहभागीहरूले यस्ता प्रशिक्षणहरूले समाजमा रुपान्तरण ल्याउने र सिर्जनशीलतालाई सकारात्मक दिशामा अगाडि बढाउने धारणा राखेका थिए।
कार्यक्रमको स्वागत हरि बरालले गरेका थिए भने सञ्चालन पत्रकार सरोज पौडेलले गरेका थिए।
