रसुवा, नुवाकोट तथा धादिङ जिल्लामा आएको अप्रत्याशित बाढीबाट प्रभावित नेपाली तथा विदेशी नागरिकहरूको उद्धार तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले गोपीकृष्ण स्मृति प्रतिष्ठानले नेपाल सरकारको प्रधानमन्त्री दैवी–प्रकोप उद्धार कोषमा रु. ५५,५५५ (पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ) सहयोग गरेको छ।
प्रतिष्ठानको कार्यसमितिले हालै गरेको छलफल तथा निर्णयअनुसार उक्त रकम बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा राहतका लागि प्रदान गरिएको हो।
भदौ १० गते आएको अप्रत्याशित बाढीले रसुवा, नुवाकोट तथा धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण धेरै मानिसहरू बेपत्ता भएका छन् भने प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य निरन्तर भइरहेको छ। यस्तो कठिन परिस्थितिमा उद्धार कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन प्रतिष्ठानले नेपाल सरकार तथा सम्बन्धित सम्पूर्ण निकायहरूलाई आग्रह गरेको छ।
विशेषगरी, रसुवा जिल्लाको लामटाङ क्षेत्रमा हिमपहिरोको एक भाग ढलेपछि अप्रत्याशित रूपमा आएको बाढीबाट प्रभावित भई डुबानमा परेर दिवंगत भएका ज्ञात–अज्ञात आत्माहरूप्रति प्रतिष्ठान परिवारले चिरशान्तिको कामना गरेको छ। साथै, आफ्ना प्रियजन गुमाएका सम्पूर्ण शोकाकुल परिवारप्रति प्रतिष्ठानले गहिरो समवेदना व्यक्त गरेको छ।
यस विपद्को समयमा प्रभावित व्यक्ति तथा परिवारहरूसँग ऐक्यबद्धता जनाउँदै गोपीकृष्ण स्मृति प्रतिष्ठानले मानवीय सहयोग र सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धता व्यक्त गरेको छ।
